वीरगञ्ज, २६ जेठ । पर्सा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेको घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ तथा तयारी मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी टोलीले जिल्लाको विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दै मदिरा उत्पादनमा प्रयोग भइरहेको भट्टी फुटाएको हो।
कारबाहीका क्रममा प्रहरीले भट्टीमा रहेको करिब ५०० लिटर कच्चा पदार्थ तथा २५० लिटर तयारी घरेलु मदिरा बरामद गरी नष्ट गरेको जनाएको छ। साथै, मदिरा उत्पादनका लागि प्रयोग गरिएका सामग्री समेत नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।
अवैध रूपमा उत्पादन तथा बिक्री हुने घरेलु मदिराले समाजमा विभिन्न किसिमका अपराध, स्वास्थ्य जोखिम तथा सामाजिक विकृति बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध प्रहरीको निगरानी र कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले स्थानीय बासिन्दालाई अवैध मदिरा उत्पादन, ओसारपसार तथा बिक्री–वितरण सम्बन्धी सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ।
पर्सा प्रहरीले पछिल्लो समय अवैध मदिरा, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध अभियानलाई तीव्र बनाएको छ। उक्त अभियान अन्तर्गत गरिएको यस कारबाहीलाई अवैध मदिरा नियन्त्रणतर्फको महत्वपूर्ण सफलता मानिएको छ।
