वीरगञ्ज, २७ जेठ । सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न तथा प्रेसको संवैधानिक हक–अधिकारको संरक्षणको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साको आह्वानमा जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना कार्यक्रम सम्पन्न भएको छ।
बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म आयोजित धर्ना कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, पत्रकार तथा सञ्चार क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरकारी सूचना तथा विज्ञापन वितरण प्रक्रियामा देखिएको असमानता र पक्षपातपूर्ण निर्णयले स्वतन्त्र पत्रकारिता तथा सञ्चारमाध्यमहरूको अस्तित्वमाथि प्रत्यक्ष असर परेको बताएका थिए।
धर्ना कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, सूचनाको हक तथा सञ्चारमाध्यमको समान अवसरको सिद्धान्त विपरीत हुने गरी गरिएका निर्णयहरू तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले सरकारी विज्ञापन र सूचना वितरणमा पारदर्शिता, समानता तथा न्यायपूर्ण व्यवस्था लागू गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ पर्साले जारी गरेको अपिलमा सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र आलोचनात्मक पत्रकारितालाई निरुत्साहित गर्ने कुनै पनि निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने उल्लेख गर्दै त्यस्ता निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ।
धर्ना कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, सञ्चारमाध्यमप्रति समान व्यवहार तथा संविधानप्रदत्त अधिकारको सम्मानका लागि आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
महासंघले सरकारलाई प्रेसमैत्री नीति अवलम्बन गर्न, सञ्चार क्षेत्रमाथिको विभेद अन्त्य गर्न तथा लोकतान्त्रिक व्यवस्थाको आधारभूत स्तम्भका रूपमा रहेको स्वतन्त्र पत्रकारिताको सम्मान गर्न आग्रह गरेको छ।
