गोदाममा लुकाइछिपाइ राखिएको ६ लाखभन्दा बढीको अवैध मलखाद बरामद

समाचार

बारा, जेठ २८ । बारा प्रहरीले कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले गोदाममा लुकाइछिपाइ राखिएको नेपाली अनुदानित तथा भन्सार छली गरी भित्र्याइएको भारतीय मलखाद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रसौनी गाउँपालिका–५, प्रस्टोकामा सञ्चालनमा रहेका विभिन्न पसल तथा सहकारी संस्थामा छापा मारेर ठूलो परिमाणमा मलखाद नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नितिक बीउ भण्डारका सञ्चालक शिवशंकर साहले रामअवध सहनीको घरमा गोदाम गरी राखेको २९ बोरा अनुदानित पोटास मल बरामद गरिएको छ। उक्त मलको अनुमानित मूल्य रु. ४७ हजार ३४२.५० रहेको छ।

त्यसैगरी बिक्की गल्ला भण्डारबाट ५९ बोरा अनुदानित पोटास मल फेला परेको प्रहरीले जनाएको छ। बरामद मलको मूल्य रु. ९६ हजार ३१७.५० रहेको छ।
यस्तै, महा सरस्वती कृषि सहकारी संस्था लिमिटेडबाट भारतीय युरिया २८ बोरा, एमोनियम सल्फेट १७ बोरा तथा नेपाली अनुदानित युरिया ८ बोरा गरी ५३ बोरा मलखाद बरामद गरिएको छ। उक्त मलखादको अनुमानित मूल्य रु. ५० हजार ७२० रहेको प्रहरीले जनाएको छ।

प्रहरीले मधेश प्रदेश ०३-००२ च ११८२ नम्बरको ई–लोडरमा भारतीय युरिया मलखाद १६ बोरा ओसारपसार भइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ। मलखादसहित ई–लोडरको अनुमानित मूल्य रु. ४ लाख रहेको बताइएको छ।

बरामद गरिएको मलखाद तथा सवारीसाधनको कुल मूल्य रु. ६ लाख ९ हजार १ सय रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृषि प्रयोजनका लागि सरकारले अनुदानमा उपलब्ध गराउने मलखाद अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्दा किसानलाई समस्या हुने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *