पर्सा,२८ जेठ । भन्सार छली गरी अवैधरूपमा ओसारपसार गर्दै लगिएको २०० किलोग्राम स्याउसहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भन्सार प्रक्रिया पूरा नगरी चोरी निकासी गरी लैजाँदै गरेको करिब २०० केजी स्याउ बरामद गरेको हो। उक्त स्याउसहित संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएको स्याउ तथा पक्राउ परेका व्यक्तिबारे थप विवरण खुलाउन बाँकी रहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको बताएको छ।
प्रहरीले राजस्व छली तथा अवैध सामान ओसारपसारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध सूचना उपलब्ध गराउन समेत अनुरोध गरेको छ।
