रौतहटमा ९० लाखभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद, झडपमा ६ जना घाइते

समाचार

रसीद आलम
रौतहट, जेठ २८। नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारततर्फ निकासी गर्न लुकाइछिपाइ राखिएको करिब ९० लाख १६ हजार रुपैयाँ बराबरको फर्सीको बिउ प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझ करिब ७:३० बजे बौधीमाई नगरपालिका–७, बाडा बंकुल टोलस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक त्रिपालले छोपेर ठूलो परिमाणमा फर्सीको बिउ लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो।

खानतलासीका क्रममा त्रिपालले ढाकेर राखिएको ३२२ बोरा फर्सीको बिउ बरामद गरिएको प्रहरीले जनाएको छ। प्रति बोरा ४० किलोग्रामका दरले जम्मा १२ हजार ८८० किलोग्राम फर्सीको बिउ फेला परेको हो। बरामद बिउको अनुमानित मूल्य रु. ९० लाख १६ हजार रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सम्पूर्ण बिउ आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।

यसैबीच, बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले प्रहरी टोलीमाथि अवरोध गर्दै ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
झडपका क्रममा ढुंगामुढामा संलग्न ३ जना स्थानीय तथा ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमले सीमावर्ती क्षेत्रमा हुने अवैध निकासी तथा तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *