वीरगञ्ज,जेठ ३० ।पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियानअन्तर्गत ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ क्षेत्रमा गरिएको प्रहरी कारबाहीका क्रममा भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्ला, ग्राम–पोष्ट शंकरशरैया निवासी २१ वर्षीय सन्नी राजलाई १.२८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
यस्तै, बारा जिल्लाको कलैया उपमहानगरपालिका–६ निवासी २३ वर्षीय अमन कुमार साहलाई ०.५३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
पछिल्लो समय सीमावर्ती क्षेत्र वीरगञ्जमा लागू औषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
