पोखरीमा डुबेर दुई बालिकाको दुःखद मृत्यु

समाचार

बारा, असार ७।  बाराको कलैया उपमहानगरपालिका–६ पर्सा टोलस्थित एक निजी पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १:३० बजे स्थानीय दीपेन्द्र साहको हाँस पालनका लागि प्रयोग गरिएको पोखरीमा नुहाउन गएका दुई बालिका डुबेर गम्भीर बिरामी भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दिउँसो करिब २ बजे दुवै बालिकाको मृत्यु भइसकेको पुष्टि गरेका थिए।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोल निवासी विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र सञ्जय मण्डलकी ५ वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक बिमलेश यादवको नेतृत्वमा टोली खटिएर घटनास्थल सुरक्षित गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राजाबाबु ठाकुरको कमाण्डमा टोली घटनास्थल पुगेको थियो र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शनिबार राति करिब ८ बजे दुवै बालिकाको शव परिवारजनलाई जिम्मा लगाइएको बारा प्रहरीले जानकारी दिएको छ।

यस हृदयविदारक घटनाले पर्सा टोल क्षेत्र शोकमग्न बनेको छ। स्थानीयवासीले बालबालिकाको सुरक्षाप्रति विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *