वडा सदस्यहरूसँग बिरगंजका कार्यवाहक नगर प्रमुख आलमको अन्तरक्रिया, विकास र सुशासनमा जोड

राजनीति समाचार

वीरगञ्ज, असार ६ ।वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले महानगरका ३२ वटै वडाका वडा सदस्यहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गर्नुभएको छ।

महानगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूले आफ्नो–आफ्नो वडाका आवश्यकता, स्थानीय समस्या तथा विकासका प्राथमिकताबारे धारणा राख्दै समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए। जनप्रतिनिधिहरूले सडक, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयहरू उठाएका थिए।

अन्तरक्रियाका क्रममा महानगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, जनगुनासोको समयमै सम्बोधन तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै जनप्रतिनिधिहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै विकासका कामलाई तीव्रता दिने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले महानगरको समग्र विकास, पारदर्शिता, सुशासन तथा जनसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले जनप्रतिनिधिहरूको सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र विकास निर्माणका कार्यलाई अझ प्रभावकारी ढंगले अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागी वडा सदस्यहरूले यस्ता अन्तरक्रियाले स्थानीय तहको सेवा प्रवाह र विकास व्यवस्थापनमा थप सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *