वीरगञ्ज, ६ असार । पर्सामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपालले ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा भइरहेको कडा निगरानी र सीमा क्षेत्रमा अपनाइएको विशेष सुरक्षा रणनीतिका कारण उक्त सफलता हात परेको हो।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुलबाट भारतीय नागरिकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्राप्त जानकारीअनुसार, मिति २०८३ असार ५ गते अपराह्न करिब ४ः४५ बजे सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी कृष्णराज जोशीको नेतृत्वमा खटिएको टोली तथा प्रहरी चौकी इनर्वाबाट प्रहरी नायब निरीक्षक राजकुमार घलानको कमाण्डमा रहेको संयुक्त सुरक्षा टोलीले मितेरी पुल क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा नियमित चेकजाँच गरिरहेको थियो।
सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05 RA 4005 नम्बरको ई–रिक्शाका चालकको गतिविधि शंकास्पद देखिएपछि सुरक्षा टोलीले विस्तृत जाँच गरेको थियो। जाँचका क्रममा चालकको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको पदार्थको थप पुष्टि गर्न सशस्त्र प्रहरीको लागूऔषध पहिचान गर्ने विशेष तालिमप्राप्त ड्रग्स डिटेक्सन डग ‘दृष्टि’ (A074 DRISTHI) को प्रयोग गरिएको थियो। उक्त कुकुरले पनि शंकास्पद पदार्थमा प्रतिक्रिया जनाएपछि सुरक्षा टोलीले चालकलाई तत्काल नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका व्यक्तिको परिचय भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, कोडरिया टोल वडा नम्बर २५, रक्सौल निवासी २४ वर्षीय मोहित कुमार रहेको खुलेको छ।
सशस्त्र प्रहरीले पक्राउ परेका मोहित कुमार, बरामद गरिएको लागूऔषध तथा प्रयोग गरिएको ई–रिक्शासहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वा हुँदै जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको खैरो हेरोइन जस्तो देखिने पदार्थको तौल १ ग्राम ०९ मिलिग्राम (१.०९ ग्राम) रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उक्त लागूऔषध सीमापार तस्करीका लागि ल्याइएको हो वा स्थानीय रूपमा वितरण गर्न खोजिएको हो भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको छ।
पछिल्लो समय नेपाल–भारत खुला सीमालाई प्रयोग गरी लागूऔषध ओसारपसार गर्ने गतिविधि बढ्न थालेपछि पर्साका सुरक्षा निकायहरूले सीमा क्षेत्रमा निगरानी कडा बनाएका छन्। विशेष गरी वीरगञ्ज–रक्सौल नाका, मितेरी पुल तथा अन्य संवेदनशील क्षेत्रहरूमा संयुक्त सुरक्षा टोली परिचालन गरी शंकास्पद व्यक्ति तथा सवारी साधनमाथि नियमित निगरानी र चेकजाँचलाई तीव्रता दिइएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार डीएसपी विकास अधिकारीको कमाण्डमा सीमा सुरक्षा गुल्म वीरगञ्जले लागूऔषध, अवैध सामान ओसारपसार तथा सीमापार अपराध नियन्त्रणका लागि सञ्चालन गरिरहेको अभियानबाट पछिल्लो समय उल्लेखनीय सफलताहरू प्राप्त हुँदै आएका छन्। यस घटनाले पनि सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता प्रभावकारी बन्दै गएको पुष्टि गरेको सुरक्षा स्रोतको भनाइ छ।
स्थानीयवासीले समेत सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त निगरानीका कारण अवैध गतिविधिमा कमी आउन थालेको बताएका छन्। सुरक्षा निकायले लागूऔषध तथा अन्य आपराधिक गतिविधिविरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
