वीरगञ्ज, १५ असार। नेपाल–भारत सीमा क्षेत्रमा हराएका दुई बालिकालाई नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयबाट सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रूपन्देहीको सम्मरीमाई गाउँपालिका–७ निवासी मोहम्मद उमर मुसलमानकी १७ वर्षीया छोरी सामरा खातुन गत वैशाख २७ गते घरबाट हराएकी थिइन्। लामो खोजीपछि भारतीय प्रहरीसँगको समन्वयमा उनलाई असार १४ गते भारतको पश्चिम चम्पारणस्थित इनरुवाबाट सकुशल फेला पारिएको हो।
उद्धारपछि ज्योति सामुदायिक विकास सेवा नेपालको रोहवरमा सामरालाई उनका बुवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यस्तै, भारतको बिहार राज्य, छपरा निवासी २५ वर्षीया निमुत कुमारी, जो सन् २०२६ अप्रिल २ देखि हराइरहेकी थिइन्, उनलाई पनि वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट सकुशल उद्धार गरिएको छ।

असार १४ गते राति करिब ८ बजे इलाका प्रहरी पोस्ट रानीघाटबाट खटिएको प्रहरी टोली र आफन्त नेपाल को संयुक्त टोलीले निमुत कुमारीलाई फेला पारी सुरक्षित रूपमा उनका अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार दुवै घटनामा नेपाल–भारत सुरक्षा निकायबीचको समन्वय प्रभावकारी देखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।
