वीरगञ्ज, असार १६ ।पर्सा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया र दुई वटा साइकिल बरामद गरेको छ।
पर्सा प्रहरीका अनुसार आइतबार (२०८३ असार १६) दिउँसो करिब २:०० बजे प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेल्वास्थित भित्री सडक खण्डमा निगरानी गर्ने क्रममा दुई वटा साइकिलमा सालको गोलिया बोकी लगिँदै गरेको अवस्थामा फेला पारेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ काठ बोकेका व्यक्तिहरू साइकिल र काठ घटनास्थलमै छाडेर फरार भएका थिए। प्रहरीले करिब ३.५ फिट लम्बाइ र ३.५ फिट मोटाइ भएको सालको गोलिया तथा दुई वटा साइकिल नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको काठ र साइकिल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सबैया वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै, फरार व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।
