भन्सारकै यात्रु शाखाको स्टोरबाट करिब ८ लाखका शृङ्गार सामग्री बरामद, तस्करीको आशंकामा सशस्त्रको छापा

समाचार

वीरगञ्ज, १७ असार । पर्साको वीरगञ्जस्थित भन्सार कार्यालयको यात्रु शाखा परिसरभित्र रहेको स्टोर कोठालाई नै तस्करीका सामान लुकाउने तथा बाहिर निकाल्ने थलो बनाइएको आशंकाबीच सशस्त्र प्रहरी बलले छापा मारेर करिब ८ लाख रुपैयाँ बराबरका विभिन्न शृङ्गार सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बलका अनुसार विशेष सूचनाका आधारमा मिति २०८३ असार १६ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको यात्रु शाखा परिसरमा रहेको स्टोर कोठाबाट सामान निकालिँदै गरेको जानकारी प्राप्त भएपछि नम्बर–१३ गण मुख्यालय पर्सा मातहत गुल्म वीरगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा आकस्मिक चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा स्टोर कोठाभित्रबाट विभिन्न किसिमका शृङ्गार सामग्री फेला परेको थियो। बरामद सामानको अनुमानित मूल्य रु. ७ लाख ९१ हजार ७ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामानका सम्बन्धमा सम्बन्धित व्यक्तिसँग खरिद बिक्रीको बिल, भौचर तथा अन्य आधिकारिक कागजात माग गरेको थियो। तर सामानको वैधानिकता पुष्टि गर्ने कुनै पनि प्रमाण पेश गर्न नसकेपछि सम्पूर्ण सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ।

बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

यस घटनाले भन्सार कार्यालयको यात्रु शाखा परिसरभित्र रहेको स्टोर कोठा कसरी र किन प्रयोग भइरहेको थियो भन्ने विषयमा समेत प्रश्न उठाएको छ। सरकारी परिसरभित्रै यति ठूलो मूल्यका सामान बिना कागजात फेला परेपछि तस्करी सञ्जालसँग सम्भावित सम्बन्ध रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान आवश्यक देखिएको छ।

सीमावर्ती क्षेत्र वीरगञ्ज हुँदै पछिल्लो समय विभिन्न प्रकारका अवैध सामानको ओसारपसार रोक्न सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको छ। सुरक्षा निकायले यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने तथा सीमामा हुने तस्करी नियन्त्रणका लागि निगरानी अझ कडा पारिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *