चक्कु प्रहारबाट बारामा ३५ वर्षीय युवकको मृत्यु, मुख्य आरोपीसहित ६ जना नियन्त्रणमा

समाचार

बारा,४ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

मिति २०८३ असोज ३ गते साँझ करिब ५:३० बजे होटलमा सोही स्थानका ३५ वर्षीय शेरबहादुर खड्कालाई जितपुरसिमरा–१६ का २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।

घटनापछि तत्काल उपचारका लागि उनलाई सिमरा नगर अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएकोमा साँझ ६:४० बजे चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थलको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।

चक्कु प्रहारपछि फरार रहेका आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले राति करिब १० बजे जितपुरसिमरा–१६, महेन्द्रनगरस्थित धानबारीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा अन्य पाँच जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको कारण तथा संलग्नताको विस्तृत विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *