बारा, साउन २३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय टेलर ट्रकले पाँचवटा सवारीसाधनलाई ठक्कर दिँदा ती सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
बारा प्रहरीका अनुसार साउन २२ गते राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको भारतीय नम्बर HR 69 D 7969 को टेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा प्रवेश गरी अनियन्त्रित भएपछि पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका सवारीसाधनलाई ठक्कर दिएको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी), लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।
कारको अगाडिको भागमा क्षति पुगेको छ भने भ्यानको अगाडि र पछाडिको भागमा क्षति भएको छ। त्यस्तै ओम्नी भ्यानको अगाडिको भाग कुच्चिएको, योद्धा पिकअपको बायाँ भागमा क्षति पुग्नुका साथै अगाडिको सिसा फुटेको र ईभी गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि भारतीय टेलरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारीसाधनहरू घटनास्थलमै रहेकाले प्रहरीले क्रेनको सहायतामा टेलर ट्रक उठाएर तथा अन्य साना सवारीसाधनलाई समेत घटनास्थलबाट प्रहरी कार्यालयतर्फ ल्याएको थियो।
दुर्घटनाका कारण केही समय सडक एकतर्फी रूपमा सञ्चालन भएकोमा राती करिब २ बजेबाट हेटौंडा–पथलैया सडकखण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।
घटनाबारे बारा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
