एकैदिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति चोरीका सामानसहित पक्राउ

समाचार

काठमाडौं, २७ साउन । ललितपुरमा एकैदिन विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले चोरीका सुनचाँदीका गरगहना, नगद तथा अन्य सामानसहित ३३ वर्षीय सुरज महर्जनलाई पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरमा गत साउन २२ गते बिहान करिब ८ बजे चोरी भएको थियो। चोरीको घटनापछि प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको विश्लेषण गर्दै चोरीमा संलग्न व्यक्तिको खोजी तीव्र पारेको थियो।

खोजतलासका क्रममा प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले गोदावरी नगरपालिका–१४ ठैब बस्ने महर्जनलाई बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको शरीर खानतलासी गर्दा ‘CAT’ लेखिएको कालो झोलाभित्र चोरी गरेर ल्याएको सुन तथा चाँदीजस्तो देखिने विभिन्न गरगहना, हवाईट गोल्ड तथा डायमण्डजस्तो देखिने औँठी, पुराना तथा नयाँ सिक्का, नगद र महिलाले प्रयोग गर्ने झोलासमेत फेला परेको थियो।
बरामद सामान

सुनजस्तो देखिने धातुका गरगहना :
रातो पोतेसहितको नौगेडी पौते–१, तौल ८१.७३ ग्राम
हार–१, तौल १४.८६ ग्राम
झुमका पिँजडा–१ जोर, तौल ६.७८ ग्राम
कानमा लगाउने झुमका–१ जोर, तौल ८.०२ ग्राम
औँठी–१, तौल ५.१८ ग्राम
सिक्री–१, तौल १५.२८ ग्राम
सिक्री–१, तौल १०.८२ ग्राम
रातो पोतेमा रहेको तिलहरी–१, पोतेसहित तौल २३९.०७ ग्राम
चुरा/बाला–४, तौल ८३.९१ ग्राम
चाँदीजस्तो देखिने धातुका गरगहना :
औँठी–३, तौल १३.४८ ग्राम
चाबी झुण्ड्याउने रिङ–१, तौल ६०.३६ ग्राम
हार–१, तौल ५४.५९ ग्राम
हनुमानको लकेटसहितको सिक्री–१, तौल १४.९१ ग्राम
ब्रासलेट–१, तौल २४.१३ ग्राम
पाउजु–१ जोर, तौल १३.२८ ग्राम

यसैगरी हवाईट गोल्ड डायमण्डजस्तो देखिने औँठी–१, हवाईट गोल्ड डायमण्डजस्तो देखिने जुली–१, पुराना तथा नयाँ सिक्का, नगद रु. ११ हजार ३ सय ९०, ‘Bessie’ लेखिएको खैरो लेडिज झोला र ‘Baggit’ लेखिएको कालो लेडिज झोला बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका महर्जनलाई चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीबाट बरामद सामानका आधारमा अन्य चोरीका घटनामा समेत उनको संलग्नता रहे/नरहेकोबारे अनुसन्धान अघि बढाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *