पर्सामा ४५ सय भारतीय कुखुराका चल्ला बरामद, तस्कर फरार

समाचार

वीरगञ्ज,३० साउन  । सशस्त्र प्रहरी बल नेपालले पर्सामा अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले अवैध पशुपन्छी तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै सीमा क्षेत्रमा निगरानी र गस्ती बढाइएको अवस्थामा उक्त चल्ला बरामद भएको हो।

सशस्त्र प्रहरी बल नेपाल बिओपी अमरपट्टीको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा ४ हजार ५ सय वटा भारतीय कुखुराका चल्ला बरामद गरेको जनाएको छ। बरामद चल्लाको अनुमानित मूल्य ३ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार शनिबार बिहान करिब ३ बजेको समयमा पर्साको बिन्दवासिनी गाउँपालिका–३, झौवागुठी क्षेत्रमा भारतबाट नेपालतर्फ अवैध रूपमा कुखुराका चल्ला ल्याइँदै गरेको सूचना पाएपछि बिओपी अमरपट्टीबाट टोली परिचालन गरिएको थियो।

बिओपी अमरपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उपेन्द्र साहको नेतृत्वमा खटिएको टोली उक्त क्षेत्रमा पुगेर निगरानी तथा चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालतर्फ ल्याइँदै गरेका कुखुराका चल्ला फेला पारेको हो।

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि अवैध रूपमा चल्ला ल्याउँदै गरेका तस्करहरूले चल्ला छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरीले जनाएको छ। तस्करहरू फरार भएपछि प्रहरीले घटनास्थलबाट सबै चल्ला नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेको थियो।

भारतबाट अवैध रूपमा पशुपन्छी तथा कुखुराका चल्ला भित्र्याउँदा स्थानीय व्यवसाय तथा पशुपन्छीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सीमा क्षेत्रमा हुने यस्तो अवैध गतिविधिमाथि निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय पर्साको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको छ। विशेषगरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याइने कुखुराका चल्ला, पशुपन्छी, खाद्यान्न, लत्ताकपडा तथा अन्य राजस्व छलीका सामान नियन्त्रण गर्न सीमा क्षेत्रमा नियमित रूपमा टोली परिचालन हुँदै आएको छ।

सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले अवैध पशुपन्छी ओसारपसार तथा सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै मातहतका युनिटलाई सक्रिय रूपमा परिचालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत बिओपी अमरपट्टीले गरेको पछिल्लो कारबाहीमा ४५ सय भारतीय कुखुराका चल्ला बरामद भएको हो।

बरामद गरिएका चल्ला सम्बन्धित निकायको समन्वयमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा संलग्न तस्करहरू भने टोली पुग्नुअघि नै चल्ला छाडेर फरार भएकाले उनीहरूको खोजी तथा पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार नियन्त्रण गर्न आगामी दिनमा समेत निगरानी र कारबाहीलाई निरन्तरता दिने सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *