बारा ८ भदौ ।घरअगाडिबाट हराएकी दुई वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोल निवासी मुकेश कुमार मण्डलकी दुई वर्षीया छोरी बिन्दी कुमारी मण्डल भदौ ६ गते साँझ ५:३० मा घरअगाडिबाट हराएकी थिइन्।
बालिका हराएको जानकारी उनका हजुरबुबा मदन मण्डलले साँझ करिब ८ः४५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्क बारामा गराएपछि प्रहरी टोली खोजीमा परिचालन भएको थियो।
बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा टोली, पछि प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको थियो। नेपाल प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट प्रहरी सहायक निरीक्षक बिमल पौडेलको कमाण्डमा कुकुरसहितको टोलीसमेत घटनास्थलमा पुगेर खोजी तथा अनुसन्धान गरेको थियो।
त्यस्तै, नेपाली सेनाको रिपुमर्दन गणबाट प्रमुख सेनानी गिरीराज गौतमको कमाण्डमा २६ जना तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २० जनाको टोलीसमेत खोजी कार्यमा परिचालन गरिएको थियो।

रातभर व्यापक खोजीपछि मिति २०८३ भदौ ७ गते बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ स्थितमा स्थानीय ४५ वर्षीया सल्मा नेसाले बालिकालाई फेला पारी आफन्तलाई खबर गरेकी थिइन्। बालिका हराएको घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी हुन्।
सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक बिमलेश कुमार यादवको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार बालिकालाई सकुशल उद्धार गरी स्वास्थ्य परीक्षणका लागि आफन्तको साथमा प्रादेशिक अस्पताल कलैया, बारामा लगिएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
बालिका हराउनुको कारण तथा उनी कसरी उक्त स्थानसम्म पुगिन् भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
