बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटतर्फ प्रस्थान

समाचार

काठमाडौं, भदौ ११ । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री शाह बिहान ९:३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ। प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुहुनेछ।

हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रियता बढाउनुभएको थियो। बाढीपछि उहाँले उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि आवश्यक निर्देशन दिनुभएको थियो।

आजको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बाढीका कारण विभिन्न स्थानमा जनधनको ब्यापक क्षति पुगेको  छ। प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको स्थलगत भ्रमणलाई बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार सञ्चालनका लागि आवश्यक निर्णय र समन्वयलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *