विद्यालयका प्रधानाध्यापक कुटिएको घटनामा एक युवक पक्राउ

समाचार

सर्लाही,१६ भदौ  । बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएको तथा सवारीसाधन तोडफोड गरिएको घटनामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रधानाध्यापकलाई कुटपिट गरिएको भन्दै फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा भिडियो सामग्री प्रसारित भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीको गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्यालयभित्र सरसफाइ गराउने विषयमा प्रधानाध्यापकले विद्यार्थीलाई गालीगलौज तथा दुर्व्यवहार गरेको आरोपबारे विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको अवस्थामा विवाद उत्पन्न भएको थियो। सोही क्रममा बलरा नगरपालिका–४ निवासी करिब ५५ वर्षीय प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट हुँदा उनी सामान्य घाइते भएका थिए। घटनाका क्रममा सवारीसाधनसमेत तोडफोड भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ निवासी २० वर्षीय अभिषेक कापडलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *