एसपी भट्टको तस्करी नियन्त्रण अभियान तीव्र : सशस्त्र प्रहरी पर्साले ३९ लाखभन्दा बढीको सामान बरामद गरी भन्सार बुझायो

समाचार

पर्सा, ३ मंसिर ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा संचालन भइरहेको तस्करी नियन्त्रण अभियान पछिल्ला दिनमा झन् प्रभावकारी बन्दै गएको छ। यही अभियान अन्तर्गत विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीबाट करिब ३९ लाख रुपैयाँभन्दा बढी मुल्य बराबरका अबैध सामान बरामद गर्दै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

पिकअप गाडीबाट २७ लाखभन्दा बढीको कपडा बरामद

मिति २०८२।०८।०३ गते सशस्त्र प्रहरी बल, प्र.सि.सु. गुल्म अलौबाट सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा खटिएको ७ जनाको टोलीले पर्सा विन्दवासिनी गाउँपालिका–३ झौवा क्षेत्रमा चेकजाँच गर्दा ना ४ च ६९३५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याइँदै गरेको ठूलो परिमाणमा कपडा बरामद गरेको हो।
बरामद सामान तथा गाडीलाई भन्सार कार्यालयमा बुझाउँदा कुल मूल्य रु. २७,१३,९४०।– कायम भएको सशस्त्र प्रहरीले जनाएको छ।

मोबाइल पार्ट्स र मोटरसाइकलसहित २ लाखभन्दा बढीको सामान नियन्त्रण

सोही दिन उक्त गुल्मले रु. २,२२,१००।– बराबरको मोटरसाइकल तथा विभिन्न गाडीका पार्ट्स पनि नियन्त्रणमा लिई बीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

टाउकोमा बोकेर तस्करी गरिएको इलेक्ट्रोनिक्स र कपडा बरामद

मिति २०८२।०८।०३ कै दिन सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको अर्को टोलीले पर्सा, वीरगंज महानगरपालिका–२२ जगरनाथपुरमा भारतबाट अबैध रुपमा भन्सार छली टाउकोमा बोकी ल्याइँदै गरेको रु. २,५४,६००।– बराबरको कपडा तथा इलेक्ट्रोनिक्स सामग्री बरामद गरेको छ।
सामान नियन्त्रण पश्चात बीरगंज भन्सारमा बुझाइएको छ।

हेल्मेटमा लुकाइएको ३ लाख रुपैयाँसहित बरामद

भन्सार मेनगेटमा प्र.सि.सु. गुल्म अलौ तथा प्र.सि.सु. गुल्म बिरगंजको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 05AV 5983 नम्बरको मोटरसाइकल रोक्दा चालक आनन्द कुमारले लगाएको हेल्मेटभित्र नेपाली रूपैयाँ ३,००,०००।– लुकाइराखेको फेला पारेको हो।
सो रकम, मोटरसाइकल चालक तथा रु. १,५०,०००।– मूल्य बराबरको मोटरसाइकलसहित सबै वस्तु भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

छठियाघाट हुँदै ल्याइँदै गरिएको ५,४०० वटा चल्ला बरामद

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बीओपी अमरपट्टीबाट खटिएको टोलीले पर्सा, विन्दवासिनी–३ छठियाघाट हुँदै अबैध रुपमा ल्याइँदै गरेको ५,४०० गोटा (५४ कार्टुन) ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।
बरामद चल्लाको मूल्य रु. २,७०,०००।– रहेको र आवश्यक प्रक्रिया  पूरा गरी ती चल्ला नष्ट गरिएको जानकारी सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका अनुसार तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त बनाइने र सीमाक्षेत्रमा हुने अबैध गतिविधिमाथि निरन्तर निगरानी तथा कडाइ गर्ने कार्य जारी रहनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *