सिमरा,३ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरा क्षेत्रमा आज देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, संयम र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबै पक्षलाई आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सार्वजनिक सम्पत्ति नष्ट गर्ने, विमानस्थलमा अवरोध गर्ने वा कानुन हातमा लिने जस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नभएको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो, तर यसको नाममा कानून विपरीतका गतिविधि सह्य हुँदैन।”
उनले गृह प्रशासन तथा सुरक्षा निकायलाई शान्ति–सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निष्पक्ष तथा भयमुक्त निर्वाचन वातावरण बनाउन उच्च सतर्कता र संयमतापूर्वक परिचालन हुन निर्देशन दिएकी छन्।
लोकतान्त्रिक अभ्यास नै जनताको वास्तविक भावना र अपेक्षा पूरा गर्ने माध्यम भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अनावश्यक राजनीतिक उत्तेजना बाट टाढा रहन तथा समस्याको समाधान लोकतान्त्रिक प्रक्रियाबाट खोज्न सबैलाई अपिल गरेकी छन्।
