बारा सशस्त्रका एसपी केसीको सशक्त नेतृत्वमा १० लाख भन्दा बढी श्रोत नखुलेको रकमसहित व्यक्ति पक्राउ

समाचार

बारा, ३ मंसिर ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी खुमबहादुर केसीको सक्रिय नेतृत्व तथा टोलीको गोप्य अनुगमनका क्रममा बारामा ठूलो मात्रामा श्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन्। अवैध धरातलीय गतिविधि नियन्त्रण तथा सीमा सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले गर्दै आएको निगरानीकै परिणामस्वरूप उक्त सफलता हात परेको जनाएको छ।

मिति २०८२।०८।०३ गते अन्दाजी १:५० बजे बिश्रामपुर गाउँपालिका–०४, बलिरामपुरस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक बीओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि) सन्दिप केसी नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलको डिक्कीभित्र लुकाएर ल्याइएका श्रोत नखुलेको नेपाली रूपैयाँ १०,८०,०००/– (दश लाख अस्सी हजार) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। ती व्यक्तिले रकमको स्रोतबारे विश्वसनीय आधार प्रस्तुत गर्न नसकेपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

बरामद मोटरसाइकलको मूल्य रु १,५०,०००/– रहेको छ। यससँगै पक्राउ परेका व्यक्तिसहित कुल रु १२,३०,०००/– बराबरको रकम तथा वस्तु नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया पूरा गर्न बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।

सीमाक्षेत्र हुँदै हुने अवैध कारोबार, तस्करी तथा शंकास्पद वित्तीय गतिविधि नियन्त्रणलाई लक्षित गर्दै सशस्त्र प्रहरीले पछिल्ला दिनमा निगरानी थप कडा पारेको छ। एसपी केसीको नेतृत्वमा संचालन भइरहेका निरन्तर गस्ती, चेकपोष्ट सुदृढीकरण र सघन सुरक्षा रणनीतिलाई स्थानीयले समेत प्रभावकारी रहेको बताउँदै प्रशंसा गरेका छन्।

सशस्त्र प्रहरी बाराले अवैध गतिविधिमा संलग्न कुनै पनि व्यक्तिलाई कानूनी दायरामा ल्याइने र सीमा सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *