पर्सामा प्रहरीको सफल ‘एक्सन’: करिब ३७ लाख बराबरका चोरीका गरगहना सहित चार जना पक्राउ

समाचार

रसीद आलम

पर्सा, ३ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा संचालित विशेष अपरेशनमार्फत पर्सा प्रहरीले करिब ३७ लाख रुपैयाँ बराबरका चोरीका गरगहनाहरू बरामद गर्दै चार जनालाई पक्राउ गर्न सफल भएको छ।

प्रहरीका अनुसार विशेष गोप्य सूचनाको आधारमा मिति २०८२/०७/३० गते दिउँसो करिब १४:३० बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–३२ स्थित जितपुरबाट मिलनचोकतर्फ आइरहेको लु. ९६ प ३७३३ नम्बरको स्कुटी जाँच गर्ने क्रममा ठूलो परिमाणमा लुकाइ राखिएका बहुमूल्य गरगहना फेला पारेको हो।

स्कुटी चालक भारत विहार, वेतीया–बल्थरका वर्ष ३३ का विजय राय र पछाडि सवार वर्ष ६० का शेख बुनादलाई रोक गरी चेकजाँच गर्दा बुनादले लगाएको पाइन्टको खल्तीबाट सेतो कपडामा बेरिएको, बिल–बिजकविहीन विभिन्न सुन तथा चाँदी जस्ता देखिने गरगहना फेला परेको प्रहरीको विवरणमा उल्लेख छ।

घर खानतलासीमा थप गरगहना बरामद

प्रारम्भिक बयानका आधारमा प्रहरीले अन्य गरगहना लुकाइएको आशंकामा वीरगञ्ज–३२, टेढा मुसहर टोल बस्ने वर्ष २० का विध्या कुमार नटको घर स्थानीय भद्रभलाद्मी तथा जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइ राखिएका थप गरगहना समेत फेला परेपछि बरामद सामानको कुल मूल्य रु. ३६,७०,०५१ (छत्तीस लाख सत्तरी हजार एकाउन्न रुपैयाँ) पुगेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू

१. विजय राय, वर्ष ३३, भारत विहार, वेतीया–बल्थर
२. शेख बुनाद, वर्ष ६०, भारत विहार, वेतीया–बल्थर
३. बिनोद राउत, वर्ष ३१, भारत विहार, वेतीया–गबनाहा, थाना आरा पिपरा
४. विध्या कुमार नट, वर्ष २०, वीरगञ्ज–३२, टेढा मुसहर टोल, पर्सा

बरामद गरिएका सामान

  • चाँदीका बाला – ४ थान
  • सुनका सिक्री – ११ थान
  • चाँदीका पाउजो – १० थान
  • सुनका झुम्का – २ थान
  • चाँदीका सिक्का – २ थान
  • सुनका नथिया – ३ थान
  • चाँदीका बिछिया – ८ थान
  • सुनको पोतो सहित जडित माला – २ थान
  • चाँदीका हथशंकर – २ थान
  • सुनको ‘M’ लेखिएको लकेट – १ थान
  • सुन–चाँदी तौल गर्ने तराजु – १ थान
  • सुनको औंठी – १ थान
  • सुनको मांगटिका – २ थान
  • नेपाली नगद – रु. ३,७९,०००
  • भारतीय नगद – रु. ९,२००

अनुसन्धानका लागि ५ दिन म्याद थप

उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए।

पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले चोरी र आपराधिक गतिविधिमाथि कडा कारबाही गर्दै जिल्लामा सुरक्षित वातावरण कायम गर्ने उद्देश्यले प्रहरी निरन्तर सक्रिय रहेको बताए।

प्रहरीले यस घटनासँग सम्बन्धित अन्य व्यक्ति वा समूहको संलग्नता रहे–नरहेकोबारे पनि थप अनुसन्धान जारी राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *