बारा,३ मंसिर ।
बाराको जीतपुरसिमरा क्षेत्रमा बुधबार दिउँसो उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले सिमरा विमानस्थल वरपर कर्फ्यु आदेश जारी गरेको छ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत परवानीपुर गाउँपालिका–४ चैनपुरमा आयोजित कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थलमा अवतरण गर्ने तयारीको जानकारी सार्वजनिक भएपछि ‘जेन–जी’ युवाहरूले तीव्र विरोध जनाएका थिए।
विमानस्थल चोकमा भेला भएका युवाहरूले “शङ्कर–महेश फिर्ता जाऊ, सिमरा छोडेर जाऊ” जस्ता नाराबाजी गर्दै प्रदर्शन थालेपछि केहीबेरमै स्थिति उग्र बनेको थियो। प्रदर्शनकारी र एमाले समर्थकबिच हात हालाहाल तथा ढुङ्गा मुढा सुरु भएपछि तनाव झन् चर्किएको हो। उग्र भीडले विमानस्थलको मुख्य गेटमा तोडफोड गर्नुका साथै अन्य संरचनामा समेत क्षति पुरयाएको छ।
ढुङ्गा हानाहानका क्रममा केही व्यक्ति घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। उत्पन्न तनावका कारण सिमरा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ र बुधबारका सबै आन्तरिक उडान रद्द भएका छन्, जसका कारण सयौँ यात्रु अलपत्र परेका छन्।
स्थिति थप बिग्रन नदिन बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मङ्सिर ३ गते दिउँसो १२:३० बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका छन्। कर्फ्यु गण्डक नहरदेखि पथलैया सडकखण्डको राजमार्ग दायाँ–बायाँ पाँच सय मिटर दूरीभित्र तथा सिमरा विमानस्थल आसपास पाँच सय मिटर क्षेत्रमा लागू हुनेछ। कर्फ्यु अवधिमा आवतजावत, सभा–जुलुस, भेला वा कुनै पनि प्रकारको प्रदर्शन पूर्णरूपमा निषेध गरिएको छ।
तनावपूर्ण अवस्थालाई हेर्दै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अहिले पनि विमानस्थल आसपास सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले “परिस्थिति नियन्त्रणमा छ, सुरक्षा सतर्कता उच्च पारिएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ,” बताएका छन्। प्रशासनले सबै पक्षलाई संयम अपनाउन, शान्ति कायम गर्न आग्रह गरेको छ र आवश्यक परे कर्फ्यु अवधि थप गर्न सकिने चेतावनी दिएको छ।
