सिमावर्ती सुरक्षाका लागि सशस्त्र प्रहरीद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सम्पन्न

समाचार

पर्सा, २ मंसिर ।
सशस्त्र प्रहरी बल, नेपालद्वारा पर्साको धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साको आयोजनामा भएको उक्त कार्यक्रममा उल्लेखनीय  सहभागीता रहेको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बाहिनी नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका सहायक बाहिनीपति वरिष्ठ उपरीक्षक अशोक कुमार बम प्रमुख अतिथि रहे। सोही कार्यक्रमका विशिष्ट अतिथिमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट आएका वरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेल, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रिकान्त प्रसाद यादव, धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान तथा सशस्त्र प्रहरी बल नं.१३ गणका गणपति उपरीक्षक पुरन चन्द्र भट्टलगायतको उपस्थिति थियो।

यससँगै सीमा सुरक्षा गुल्म भिखमपुरका डिएसपी विष्णु उप्रेती, पर्सा जिल्लाका विभिन्न सिमावर्ती स्थानीय तहका जनप्रतिनिधि तथा प्रस्तावित गुल्म र बीओपीहरूका अधिकारीहरू पनि सहभागी थिए।

कार्यक्रममा सीमा सुरक्षालाई प्रभावकारी बनाउन सामूहिक प्रयास आवश्यक रहेको, समन्वयात्मक ढंगले सुरक्षा चुनौतीहरू समाधान गर्नुपर्ने तथा सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि समुदायसँगको सहकार्य अत्यन्त महत्वपूर्ण रहने विषयमा विस्तृत छलफल गरिएको थियो।

त्यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत धोबिनी गाउँपालिका–२ का ३३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *