वीरगञ्ज,१७ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ मा डेरा कोठाको ताल्चा फुटाई गरगहना चोरी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेंटा निवासी २० वर्षीय अर्जुन प्रसाद यादव र सोही स्थानका उनका साथी २० वर्षीय ओमप्रकाश प्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार बारा कोल्हवी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएकी २० वर्षीया आरती कुमारी चौधरी भदौ १४ गते दिउँसो करिब १२ बजे कोठामा ताल्चा लगाएर सिलाइ–बुनाइको काम गर्न टेलरमा गएकी थिइन्। काम सकेर बेलुका करिब ८ बजे कोठामा फर्किँदा ताल्चा फुटाइएको र कोठाबाट गरगहनालगायतका सामान चोरी भएको पाइएको थियो।
घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएपछि अनुसन्धान अघि बढाउने क्रममा चौधरीकै डेरा नजिक कोठा भाडामा लिएर बस्दै आएका अर्जुन र ओमप्रकाशमाथि शंका लागेपछि उनीहरू बस्ने कोठामा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा चोरी भएका गरगहनाहरू फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका चोरीका सामानसहित दुवै जनालाई नियन्त्रणमा लिएर चोरी तथा डाँकासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका हुन्।
