वीरगञ्ज, भदौ २६ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन तथा जिम्मेवारी बोध अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जस्थित ग्रीनल्यान्ड माध्यमिक विद्यालयमा ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका सञ्चालक लक्ष्ेश्वर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–२ का वडाध्यक्ष रेयाज मिया समानी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष हाजी ज्ञासुदिन ठकुराई विशिष्ट अतिथि तथा सेवा केन्द्रका प्रहरी असई विद्यानन्द चौधरी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका विभिन्न जिम्मेवारीमा चयन भएका विद्यार्थीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, संस्थापक, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूले ब्याज वितरण गर्नुभएको थियो।
ब्याज ग्रहण गरेपछि विद्यार्थीहरूले आफूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारी, अनुशासन, लगनशीलता र जिम्मेवारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित शपथ ग्रहण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेयाज मिया समानीले विद्यार्थी जीवनमा अनुशासन, नेतृत्व क्षमता, जिम्मेवारीबोध र सहकार्यको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफूले पाएको जिम्मेवारीलाई अवसरका रूपमा लिएर विद्यालय तथा समाजका लागि सकारात्मक योगदान गर्न आग्रह गर्नुभयो।

विशिष्ट अतिथि हाजी ज्ञासुदिन ठकुराई तथा अतिथि प्रहरी असई विद्यानन्द चौधरीले ब्याच वितरण तथा शपथ ग्रहण कार्यक्रमले विद्यार्थीहरूमा थप ऊर्जा, आत्मविश्वास र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापकले नयाँ जिम्मेवारी प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना मन्तव्य तथा विभिन्न सांस्कृतिक एवं नृत्य प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक धुपनाथ सरले गर्नुभएको थियो।
