चुरियामाई नजिक ढुंगा खस्दा हेटौँडा–वीरगञ्ज सडक अवरुद्ध, प्रहरीको सक्रियतापछि दुईतर्फी सञ्चालन

समाचार

बारा ,९ असोज । हेटौँडा–वीरगञ्ज सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक ढुंगा खस्दा केही समय सडक एकतर्फी अवरुद्ध भएको छ।

शुक्रबार  बिहान करिब ६ः३० बजे चुरियामाई मन्दिरबाट करिब ५० मिटर दक्षिणतर्फ सडकमा ढुंगा खसेर सडक बन्द भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगञ्जबाट प्रहरी हवल्दार नवलकिशोर साहको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको बारा प्रहरीले जनाएको छ।

प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी खसेका ढुंगा हटाउने तथा यातायात सञ्चालनको व्यवस्था मिलाएको थियो। केही समय सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि प्रहरीको सक्रियता र समन्वयपछि बिहान करिब ९ बजेबाट सडक दुवैतर्फी रूपमा पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

सडकमा ढुंगा खस्ने सम्भावना रहेको क्षेत्र भएकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र सावधानीपूर्वक यात्रा गर्न बारा प्रहरीले अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *