पर्सा सशस्त्रद्वारा लागू औषध कारोबार संजालमाथि कडा प्रहार, १२० के.जी. गाँजा बरामद

समाचार

बिरगंज, ९ पुस।
सशस्त्र प्रहरी बल, नेपाल पर्साले लागू औषध कारोबारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। पर्साका सशस्त्र प्रहरी प्रमुख एसपी पुरन चन्द्र भट्टको नेतृत्व तथा निर्देशनमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत १२० के.जी. गाँजा नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार मिति २०८२।०९।०९ गते जिल्ला पर्सा बिन्दवासिनी गाउँपालिका–५ प्रसौनिभाठा गाउँस्थित धुतहा खोलाको किनार क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी प्रसौनिभाठाबाट खटिएको गस्ती टोलीले निगरानी गरिरहेको थियो।

उक्त क्रममा केही व्यक्तिहरूले नेपालबाट भारततर्फ लागू औषध गाँजा बोकेर लैजाँदै गरेको देखिएपछि सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिहरू ८ वटा प्लास्टिकका पोका घटनास्थलमै छोडी फरार भएका थिए। पछि ती पोका खोली जाँच गर्दा जम्मा १२० के.जी. प्रतिबन्धित लागू औषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योन्जनले जानकारी दिए। उनका अनुसार फरार रहेका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य नेपाल प्रहरीसँग समन्वय गरी अगाडि बढाइएको छ।

एसपी पुरन चन्द्र भट्टले पर्सा जिल्ला लागू औषध ओसारपसारको जोखिममा रहेकाले यस्ता गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निरन्तर सतर्क अवस्थामा रहेको बताए। उनले सीमा क्षेत्रलाई कडाइका साथ निगरानी गर्दै लागू औषध, तस्करी तथा अन्य अवैध क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको स्पष्ट पारे।

स्थानीयवासीले पनि सशस्त्र प्रहरीको सक्रियता र कडाइले सीमा क्षेत्रमा अपराध नियन्त्रणमा सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल पर्साले आगामी दिनमा पनि लागू औषध कारोबार संजाललाई जरोदेखि उखेल्न थप कडा अभियान सञ्चालन गर्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *