काठमाडौँ, साउन २७। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश–विदेशका सम्पूर्ण युवाहरुलाई शुभकामना व्यक्त गरेका छन्। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट १२ लाई युवा दिवसका रूपमा घोषणा गरेको थियो। पहिलो पटक सन् २००० मा यो दिवस मनाइएको हो।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ।”
उनले अन्तर्राष्ट्रिय युवा दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको उल्लेख गर्दै सबै युवालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
