जाजरकोट ,१४ असोज । जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी सर्मिला शाही पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार २०८२ साल साउन ११ गते बेलुका करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिक बायाँतर्फको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएको भनिएको हँसिया (खुर्पा) समेत बरामद गरेको थियो।
घटनाबारे अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले २०८३ असोज ७ गते आफ्नी माइली भाउजू सर्मिला शाही घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए।
जाहेरीका आधारमा पक्राउ अनुमति लिएर प्रहरीले सर्मिलालाई उनकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेकी सर्मिलाविरुद्ध जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप भएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले घटनाबारे जानकारी दिएका हुन्।
