बारा, असोज १४ । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८३/०८४ का लागि मातहतका प्रहरी कार्यालयका प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करार हस्ताक्षर गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा बुधबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर तथा मातहतका प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरिएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा, निजगढ, कोल्हवी, बारागढी, प्रसौनी र सिम्रौनगढका कार्यालय प्रमुखहरू भौतिक रूपमा उपस्थित भएका थिए।
कार्यसम्पादन करारमार्फत सम्बन्धित प्रहरी कार्यालयले आगामी आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कार्य, जिम्मेवारी तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। प्रहरी संगठनको कार्यक्षमता, सेवा प्रवाह र जिम्मेवारीलाई थप व्यवस्थित तथा परिणाममुखी बनाउने उद्देश्यले यस्तो करार गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कार्यक्रमले मातहतका प्रहरी कार्यालयहरूबीच समन्वय सुदृढ गर्दै शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।
