जीतपुरमा पसल चोरीको आशंकामा १४ वर्षीय बालक पक्राउ

समाचार

बारा,१५ असोज  । जीतपुरसिमरा उपमहानगरपालिका–७ पडाबजारस्थित एक पसलमा चोरी भएको आशंकामा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ।

मिति २०८३ असोज १५ गते राति करिब १ः३० बजे इलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट प्रहरी सहायक निरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले पडाबजारस्थित पूर्वतर्फको सर्भिस लेनमा बकुलियाबाट जीतपुर चोकतर्फ जाँदै गरेका जीतपुरसिमरा–६ निवासी हसमुदिन अंसारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनको साथबाट नगद १७ हजार ३ सय रुपैयाँ सहित विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ। बरामद नगदमा ५ सय रुपैयाँका ३ थान, १ सय रुपैयाँका ९१ थान, ५० रुपैयाँका ९० थान, २० रुपैयाँका ५९ थान, १० रुपैयाँका ८२ थान र ५ रुपैयाँका ४४ थान नोट रहेका छन्।

त्यसैगरी, उनको साथबाट पुलास १ थान, रिन्च १ थान, मोबाइल चार्जरको टाउको १ थान, ब्लुटुथ १ थान र सिन्का २ प्याकेट समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जीतपुरसिमरा–७ निवासी शम्भु साहले सञ्चालन गरेको ‘संगम कोल्ड ड्रिम्स’ पसलको जस्ताको छानो हटाइएको अवस्थामा भेटिएको थियो। पसलको करिब ८ फिट लम्बाइ र ३ फिट चौडाइको जस्ता हटाई नगद तथा सामग्री चोरी भएको आशंका गरिएको छ।

बरामद सामग्री र नगद चोरीसँग सम्बन्धित हुनसक्ने आशंकामा बालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जीतपुर, बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *