नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम पटक-पटक मिचे प्रवेशमै रोक लगाइने, १३ कारबाहीमा

समाचार

काठमाडौं, १६ असोज । नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने १३ जना सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ।

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाले असोज १५ गते (बिहीबार) गरिएको विशेष चेकिङका क्रममा उनीहरूलाई कारबाहीमा परेका हुन्।

 

सुरुङमार्गभित्र जथाभाबी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा लेन अनुशासन पालना नगर्ने चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

 

ट्राफिक प्रहरीका अनुसार सुरुङमार्गभित्र ओभरटेक गर्ने र तीव्र गतिमा गाडी हुक्याउने गर्दा गम्भीर दुर्घटनाको जोखिम उच्च हुन्छ। सुरुङभित्र दुर्घटना भएमा जनधनको ठूलो क्षति हुनुका साथै सीमित ठाउँका कारण तत्काल उद्धार तथा राहत कार्य गर्न समेत निकै असहज हुने गर्दछ।

 

यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरुङमार्ग जस्तो अति संवेदनशील सडक खण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन र अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न सम्पूर्ण सवारीचालकहरूलाई हार्दिक अनुरोध गरेको छ।

 

प्रहरीले नियम उल्लङ्घन गर्नेहरूलाई कडा चेतावनीसमेत दिएको छ। यदि कुनै सवारीचालक वा सवारी साधनले पटक-पटक लेन अनुशासन मिच्ने र तीव्र गतिमा चलाउने जस्ता नियम उल्लङ्घन गरेको पाइएमा, त्यस्ता चालक र सवारी साधनलाई आगामी दिनमा सुरुङमार्ग प्रवेशमै पूर्ण रूपमा निषेध (ब्यान) गरिने ट्राफिक प्रहरी कार्यालयले स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *