(भारतबाट मधेश प्रदेशका विभिन्न जिल्लामा लागूऔषध सप्लाई गर्ने गिरोहको निगरानीपछि लागूऔषध नियन्त्रण ब्यूरोको कारबाही)
सिरहा ,१२ कार्तिक । भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई मधेश प्रदेशका विभिन्न जिल्लामा सप्लाई गर्दै आएको आशंका गरिएको गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाबाट ३१२ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले २०८३ कात्तिक १२ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा भारतबाट खैरो हेरोइन ल्याएर मधेश प्रदेशका विभिन्न जिल्लामा आपूर्ति भइरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले सम्बन्धित गिरोहको निगरानी गरिरहेको थियो।
सोही क्रममा कात्तिक १२ गते बिहान सिरहा नगरपालिका–१३, मल्हनिया क्षेत्रमा भारतको मधुबनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले फेला पारेको थियो। उनीहरूलाई रोक्न खोज्दा अचानक भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला, बेला पञ्चायत वडा नं. ८ निवासी ४४ वर्षीय लाल बाबु सिंह र सोही ठेगाना भएका २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३१२ ग्राम लागूऔषध खैरो हेरोइन, BR-324 V7574 नम्बरको भारतीय मोटरसाइकल एक थान र मोबाइल फोन दुई थान बरामद गरेको छ।
पक्राउ परेका दुवै भारतीय नागरिक तथा बरामद सामग्रीलाई थप आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
भारतबाट नेपालमा लागूऔषध भित्र्याई विभिन्न जिल्लामा आपूर्ति भइरहेको सूचनाका आधारमा गरिएको यस कारबाहीलाई सीमापार लागूऔषध कारोबार नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
