काठमाडौं, १२ मंसिर
अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को ठूलो परिमाणमा कारोबार गरेको अभियोगमा एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित क्षेत्रबाट उनले प्रयोग गर्दै आएका मोबाइल फोनसहित युवकलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका युवकको परिचय जिल्ला बारा, कलैया नगरपालिका–२० घर भई हाल काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफका रूपमा खुलाएको छ। उनलाई मंसिर १० गते साँझ करिब ६ बजे नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न कम्पनीका मोबाइलफोनमार्फत अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गर्दै आएको र सो कारोबारको परिमाण नेपाली रुपैयाँ रु. १९,८१,४९,५८१ (उन्नाइस करोड एकासी लाख उनन्चास हजार पाँच सय एकासी रुपैयाँ) भन्दा बढी रहेको प्रहरीको भनाइ छ।
अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। यससम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
