वीरगञ्ज,१२ मंसिर ।
नेपाल मुस्लिम समाज संघ वीरगञ्ज, पर्साले प्रधानमन्त्री सुशीला कार्कीले हालै सार्वजनिक रूपमा व्यक्त गरेको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै शुक्रबार मंसिर १२ गते नेपाल पत्रकार महासंघ पर्साको कार्यालयमा पत्रकार सम्मेलन गरे ।
संघका अध्यक्ष महबुब अली (उर्फ शेरू) द्वारा हस्ताक्षरित प्रेस वक्तव्य सार्वजनिक गर्दै संघले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै प्रकारको एडिटिङ वा कृत्रिम प्रविधि (AI) को प्रयोगबिना नै सत्य रूपमा प्रसारित भएको हो भने, उक्त अभिव्यक्ति मुस्लिम समुदाय मात्र होइन, सम्पूर्ण देशकै सामाजिक सद्भाव र समावेशितामाथि गम्भीर प्रभाव पार्ने जनाएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ— “मुस्लिमसहित कुनै पनि धर्म, जाति वा संस्कृतिमाथि अपमानजनक, गलत वा अवमाननापूर्ण टिप्पणी सार्वजनिक पदमा बसेका व्यक्तिबाट कदापि अपेक्षित हुँदैन। नेपाल जस्तो बहुलतावादी र समावेशी मुलुकमा प्रत्येक नागरिकलाई आफ्नो धर्म, भाषा र संस्कृतिसँगै जीवन यापन गर्ने पूर्ण संवैधानिक अधिकार छ।”
संघले संवेदनशील समुदायलाई लक्षित गरी व्यक्त हुने अभिव्यक्तिले सामाजिक सौहार्द, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा दिर्घकालीन नकारात्मक प्रभाव पार्नसक्ने चेतावनी दिँदै, यस्तो व्यवहार कानुनी तथा नैतिक दृष्टिले पनि अस्वीकार्य हुने स्पष्ट गरेको छ।

संघका मागहरू
नेपाल मुस्लिम समाज संघले सरकारसमक्ष निम्न ध्यानाकर्षणहरू गराएको छः
१.प्रधानमन्त्रीबाट विवादित अभिव्यक्तिबारे तत्काल सार्वजनिक स्पष्टीकरण जारी गर्नुपर्छ।
२.कुनै पनि समुदायमाथि अपमानजनक वक्तव्य दोहोरिन नदिन आवश्यक संवैधानिक र नैतिक मापदण्ड कडाइका साथ पालन गरिनुपर्छ।
३.सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संवेदनशील समुदायको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम अविलम्ब अघि बढाउनुपर्छ।
संघले आफू सदैव सामाजिक समावेशिता, समानता र राष्ट्रिय एकताको पक्षमा रहेको र भविष्यमा पनि यिनै मूल्यहरूलाई मजबुत बनाउन सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
सो पत्रकार सम्मेलनमा पूर्व मन्त्री करिमा बेगम, राजनीतिकर्मी शशी कपुर मिया, जन्नत अन्सारीलगायत मुस्लिम अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
