मकवानपुरमा भारतीय सुमोको फल्स बटमबाट ९० किलो गाँजा बरामद, प्रहरीको थप अनुसन्धानमा खुल्यो तस्करीको रहस्य

समाचार

हेटौंडा ,१४ कार्तिक । मकवानपुर प्रहरीले लागूऔषध गाँजा तस्करीविरुद्धको कारबाहीलाई तीव्रता दिँदै भारतीय नम्बर प्लेटको सुमो गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले गाडीका विभिन्न भागमा फल्स बटम (गोप्य खण्ड) बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा थप ४७ किलो ६०० ग्राम गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ कात्तिक १० गते दिउँसो करिब १३:३५ बजे हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा प्रहरी चौकी रातोमाटेबाट खटिएको ट्राफिक प्रहरीसहितको चेकिङ टोलीले भारतीय नम्बर प्लेट BR1AP6073 को सुमो गाडी जाँच गरेको थियो।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको उक्त सुमोको प्रारम्भिक जाँचका क्रममा बोनट तथा चालकको सिटमुनि बनाइएको फल्स बटममा लुकाइराखिएको प्रतिबन्धित लागूऔषध गाँजा ४२ किलो ४१० ग्राम फेला परेको थियो। गाडीमा थप गाँजा लुकाइएको हुन सक्ने आशंकामा प्रहरीले दक्ष मेकानिक्स बोलाएर गाडीका सम्पूर्ण पार्टपुर्जा खोली सूक्ष्म रूपमा जाँच गरेको थियो।

सोही क्रममा गाडीका विभिन्न भागमा विशेष रूपमा गोप्य खण्ड (फल्स बटम) निर्माण गरी लुकाइछिपाइ राखिएको अवस्थामा थप ४७ किलो ६०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक जाँचमा फेला परेको ४२ किलो ४१० ग्राम र थप जाँचका क्रममा बरामद भएको ४७ किलो ६०० ग्राम गरी उक्त सुमोबाट कुल ९० किलो १० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको हो।

सवारीसाधनका विभिन्न भागमा गोप्य संरचना बनाएर लागूऔषध ओसारपसार गर्ने प्रयास गरिएको घटनाले तस्करहरूले अपनाउने नयाँ शैलीसमेत उजागर गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीद्वारा कात्तिक १३ गते जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।

प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *