पर्सा प्रहरीको तस्करी नियन्त्रण अभियान तीव्र : १० लाख ५१ हजारभन्दा बढीका अवैध सामान बरामद

समाचार

वीरगञ्ज ,१७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा, औषधि तथा पशुचौपाया बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कात्तिक १६ गते बिहान करिब ९ः३० बजे वीरगञ्ज महानगरपालिका–२५ खाल्वा क्षेत्रबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्र्याइएका २ लाख ३१ हजार ६०४ रुपैयाँ बराबरका विभिन्न किसिमका औषधि बरामद गरिएको हो।

त्यसैगरी, २०८३ असोज १५ गते साँझ करिब ७ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त सामानसँगै २ लाख ५० हजार रुपैयाँ बराबरका भैंसी तथा १० हजार रुपैयाँ मूल्य पर्ने एउटा खसीसमेत नियन्त्रणमा लिएको छ।

यसरी औषधि, लत्ताकपडा, भैंसी र खसीसहित जम्मा १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका मालवस्तु आवश्यक कारबाहीका लागि २०८३ कात्तिक १६ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि पर्सा प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको छ। पछिल्लो बरामदगीले अवैध आयात नियन्त्रण गर्ने प्रहरी अभियानलाई थप सक्रिय बनाएको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *