वीरगञ्ज ,१७ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले फरार प्रतिवादी नियन्त्रण अभियानलाई तीव्रता दिएका छन्। सोही अभियानअन्तर्गत पर्सा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले चेक अनादर मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला पर्साको साविक जितपुर गाविस, हाल जिराभवानी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय पारसनाथ दास थारु रहेका छन्। उनलाई २०८३ कार्तिक १६ गते प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
त्यसैगरी, प्रहरीले अन्य विभिन्न मुद्दामा फरार रहेका थप १० जना प्रतिवादीलाई समेत पक्राउ गरेको छ। यससँगै एकैदिन पक्राउ पर्ने फरार प्रतिवादीको संख्या ११ पुगेको हो।
पक्राउ परेका सबै ११ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले उक्त जानकारी दिएका हुन्।
एसपी पवन कुमार भट्टराईको नेतृत्वमा फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रहरीले अभियान सञ्चालन गरिरहेको छ। यस अभियानले अदालतबाट सजाय तोकिएर पनि कानुनी दायराभन्दा बाहिर रहेका व्यक्तिहरूलाई नियन्त्रणमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
