(बरैनिया नाकामा सशस्त्र प्रहरीको सक्रियता, प्रहरी टोली देखेपछि सामान छाडेर तस्कर फरार)
बारा,१८ कार्तिक । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा हुने अवैध चोरी–पैठारी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै बाराको कल्याणपुरबाट ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ।
मिति २०८३ कार्तिक १८ गते दिउँसो अन्दाजी १३:३५ बजेको समयमा जिल्ला बारा, विश्रामपुर गाउँपालिका–१, कल्याणपुरस्थित सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी साइकलको प्रयोगबाट नेपालतर्फ ल्याइँदै गरेका कपडा, कफी, किराना सामान तथा साइकल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल बीओपी बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.नि.) गणेश खत्रीको कमाण्डमा खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीलाई देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।
प्रहरी टोलीले घटनास्थलबाट अन्दाजी रु. ७ लाख ८१ हजार ७ सय ६० रुपैयाँ बराबरका कपडा, कफी, किराना सामान तथा साइकल बरामद गरेको जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
सीमा क्षेत्रमा अवैध रूपमा हुने चोरी–तस्करी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै लगेको छ। बीओपी बरैनियाको सक्रियताले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण अभियानलाई थप मजबुत बनाएको छ।
