इनरुवा, सुनसरी,३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा रहेको छठपूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ कात्तिक २९ गते साँझ ७ः३० बजेको समयमा छठ पर्वको साँझको पूजा सम्पन्न गरी श्रद्धालु भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले उक्त छठपूजास्थलमा तोडफोड गरेका थिए।
धार्मिक आस्थासँग जोडिएको छठपूजास्थलमा तोडफोड भएको घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो। सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि घटनाको वास्तविक कारण, तोडफोडमा उनीहरूको संलग्नता तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसैबीच, तोडफोडका कारण क्षति पुगेको छठपूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइसकिएको प्रहरीले जनाएको छ। पूजास्थल पुनः व्यवस्थित बनाइएकाले श्रद्धालु भक्तजनहरूलाई कुनै डर, त्रास वा आशंका नराखी निर्धक्क भएर धार्मिक पूजाआजामा सहभागी हुन प्रहरीले हार्दिक अनुरोध गरेको छ।
धार्मिक तथा सांस्कृतिक आस्थाका केन्द्रहरूमा हुने तोडफोड र अवाञ्छित गतिविधिले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा असर पार्न सक्ने भएकाले यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका हुन्।
