वीरगञ्ज,१ मंसिर । छठ पर्वको अवसरमा सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी ठूलो आवाजमा डिजे बजाएर अशान्ति मच्चाएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ कार्तिक ३० गते बिहान करिब ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिकाका विभिन्न छठघाटमा ठूलो आवाजमा डिजे बजाई सार्वजनिक स्थलमा होहल्ला तथा अशान्ति सिर्जना गर्ने, ध्वनि प्रदूषण फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १७ केहुनिया र वडा नं. १९ बर्वा तिलावे पुलस्थित छठघाटबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा मर्यादा, अनुशासन र सार्वजनिक शान्ति कायम राख्नुपर्नेमा त्यसविपरीत ठूलो आवाजमा डिजे बजाएर सर्वसाधारणलाई असर पुर्याउने गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २५ निवासी २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल रहेका छन्। त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं. १० निवासी २७ वर्षीय पृथ्वी कार्की, बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी ३५ वर्षीय दिनेश पटेल तथा वडा नं. २ निवासी २८ वर्षीय मंजुर हवारी रहेका छन्।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले उक्त घटनाबारे जानकारी दिँदै सार्वजनिक स्थलमा अशान्ति मच्चाउने, ध्वनि प्रदूषण फैलाउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्।
धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने छठ पर्वलाई सभ्य, शान्तिपूर्ण र मर्यादित बनाउनुपर्ने अवस्थामा अनावश्यक रूपमा चर्को आवाजमा डिजे बजाउने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिप्रति प्रहरीले निगरानी र कारबाहीलाई प्राथमिकता दिएको देखिएको छ।
प्रहरीले पर्व, मेला तथा सार्वजनिक कार्यक्रममा ध्वनि प्रदूषण नगर्न, स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न र शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
