सबै मिलियौं भनेमात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

राजनीति समाचार

सिराहा, ३२ साउन । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भनेमात्र परिणाम आउने बताएका छन्। सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले भन्नुभयो, ‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन । बीपी कोइरालाले पार्टीको नेतृत्व गर्दा त गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो। अहिले त्यस्तो कोही पनि छैन । त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरु भएर यस्तो भन्नु बेकारको कुरा हो।’

 

संस्थाको निर्णय लिएर जनताको बीचमा जानुपर्ने उनको भनाइ थियो। ‘संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गरियो भने जनता दुविधामा पर्छन् । संस्थागत निर्णय जे हुन्छ, त्यो लिएर एउटै भावनाका साथ जनताका बीचमा जानु उपयुक्त हुन्छ,’ डा. महतले भने।

 

नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रुपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ। उनले भने, ‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ । बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ।’

 

नेपाली कांग्रेस पार्टी दुःख सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवाश, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको छ। आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उनले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको दाबी गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *