पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

समाचार

 

बैतडी, २२ फागुन

पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ ।

मृतक बुडालका परिवारले पिकनिक मनाउन साथमा गएका गजेद्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट,  टेक खत्री र मोहन ठगुन्नाका नाममा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि प्रहरीले १२ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले जीवन बुडालको शव नजिकबाट बिष्फोटक पदार्थ फेला पारेपछि हिरासतमा रहेका १२ जनामाथि विस्फोटक पदार्थ ऐन अन्तर्गत थप मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

जीवन बुडाल राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा सूचक पदमा कार्यरत थिए । बिदामा घर आएका बेला दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगडस्थित चमेलिया नदी किनारमा मृत फेला परेका हुन् ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि अनुसन्धान टोली बैतडी पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीवनको शव पोष्टमार्टमपछि भीसेरा परीक्षणका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *