रसीद आलम,बारा,१० पुस।
सशस्त्र प्रहरी बल बाराले कलैया उ.म.न.पा १० मटिअर्वामा नागरिक सहायता कक्ष भवनको निर्माण गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा. बाराका मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) कविन्द्र महर्जनको संयोजकत्वमा निर्माण भएको सो भवनमा विभिन्न संघ संस्था , स्थानीय अगुवा भद्रभलादमीहरुको सहयोग रहेको छ।

सहयोगी हाथहरुमा कलैया उपमहानगरवाट छानाको लागि सम्पूर्ण जस्तापाता र पाईप सहयोग भएको यसै गरी अनमोल, नेपाल, महल, नविन र काजल गरी ५ वटा ईट्टा उद्योगवाट सम्पूर्ण ईट्टा सहयोग प्राप्त भएको छ ।
सोहाना, टपग्रेस तथा अन्य क्रसरहरुवाट आवश्यक सम्पूर्ण गिटी, ढुंगा तथा बालुवा प्राप्त भएको छ भने ४ जना महानुभावहरुवाट ३३ बोरा सिमेन्ट सहयोग प्राप्त भएको छ । यसै गरी ३ वटा ढोकाको लागि आवश्यक चौकसको काठ ३ जनाहरुवाट सहयोग प्राप्त भएको छ भने नागरिक सहायता कक्ष भवन निर्माणको लागि आवश्यक श्रमदान सशस्त्र प्रहरीका कर्मचारीहरुले गर्नुभएको छ।यसै गरि नगद सहयोग तर्फ फेटा गाउपालिका र अन्य महानुभावहरुवाट जम्मा रु.७७ हजार ७ सय ७० सहयोग प्राप्त भएको डिएसपी महर्जनले जनाएका छन् ।
यसै गरी भवन निर्माणमा कुल लागत रु ३ लाख ३५ हजार ०५९ खर्च भएको पनि डिएसपी महर्जनले जानकारी गराए।
अमर सशस्त्र प्रहरी हवल्दार जोखन प्रसाद चौधरीको सम्झनामा कलैया उ.म.न.पा १० मटिअर्वा स्थित मुख्य सीमा नाकामा नव-निर्मित “सशस्त्र प्रहरी बल, नेपाल नागरिक सहायता कक्ष” को सो भवनको २३ औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा मंगलवार समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।
समुदघाटनमा कार्यक्रममा कलैया उ.म.न.पा.वडा नं.१० का वडा अध्यक्ष महमद साबिर , कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, फेटा गा.पा.का अध्यक्ष रुस्तम अंसारी, सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोप वहादुर डाँगी , सहायता कक्ष निर्माण समितिका पदाधिकारीहरु, कलैया उ.म.न.पा.२० का वडा अध्यक्ष , संचारकर्मिहरु, प्रहरी वरिष्ठ नायव निरीक्षक, तथा अन्य आमन्त्रित भद्रभलादमी लगायत उपस्थित रहेको सशस्त्र प्रहरी बाराले जनाएको छ।

डिएसपी महर्जनले “प्रत्यक्ष अप्रत्यक्ष रुपमा नागरिक सहायता नवनिर्माण भवनमा सहयोग गर्नुहुने कलैया उ.म.न.पा., फेटा गा.पा. निर्माण समिति लगायत सम्पूर्ण मनकारी महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म तथा मेरो व्यक्तिगत तर्फवाट धन्यवाद व्यक्त गर्दछु ” भनेका छन् ।
