रसीद आलम,बिरगंज,३० फागुन ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएको ६ लाख १ हजार ९ सय ३० रुपैया बराबरको तस्करीका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद गरेको छ।
फागुन २८ गते बेलुका ३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ र वडा नं. ४ स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जको घण्टाघरतर्फ लगदै गरेको अवस्थामा पक्राउ गरिएको हो।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जानकारी गराए।