रसीद आलम ,बिरगंज ,९ बैशाख।
हुण्डी कारोबारमा सलंग्न दुई जना ब्यक्तिहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँसहित बैशाख ७ गते पर्सा प्रहरीले आदर्शनगरस्थित रूङटा कम्लेक्स मार्केटभित्रबाट पक्राउ गरेको थियो । आज प्रेस बिज्ञयप्ती जारी गरि उनिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका वडा नं.२३ बस्ने वर्ष ३८ को अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउपालिका वडा नं.३ बस्ने वर्ष ४३ को अजय कुमार साह रहेको प्रहरीले जनाएको छ।अजय कुमार साह माँ जगदम्बा मनि ट्रान्सफरका संचालक समेत रहेको प्रहरीले बताएको छ।
पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले मिति २०८०।१२।०७ गते दिउँसो १ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरबाट अर्जुन राउत कुर्मी र अजय कुमार साहलाई नियन्त्रणमा लिएको थियोे ।
उनिहरुको साथबाट श्रोत नखुलेको रु.१००० दरका नोट १९५५ थान, रु.५०० दरका नोट ५०० थान र रु.१०० दरका नोट ७ समेत गरी जम्मा नेपाली रु.बाइस लाख पाँच हजार सात सय फेला परेको हुँदा नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
