काठमाडौं,२८ असार । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन् । अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशुली नदीमा बसको खोजि कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बसको उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन:-
नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको जानकारी दिदै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशिन दिएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिल गरेका छन् ।
