काठमाडौं, ५ कार्तिक ।गृहमन्त्री रमेश लेखकले आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक समारोहका बीच ट्राफिक उल्लंघन अभिलेख प्रणाली (TVRS) र ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ। उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन गर्दै यस प्रविधिले सेवाग्राहीलाई सरल, सुलभ, र पारदर्शी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकारले प्रविधियुक्त प्रशासन र सुशासन स्थापना गर्न अग्रसर रहेको उल्लेख गर्नुभयो। उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि सबै सरोकारवाला निकायहरूले गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले पनि ई-चलान प्रणालीको स्वागत गर्दै आफ्नो मन्तव्य राख्नुभयो। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै लैजान कटिवद्ध रहेको बताउनुभयो।
सो अवसरमा विभिन्न उच्च प्रहरी अधिकारी, सरोकारवाला निकायका प्रतिनिधि, र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
